भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सभा महानदी बजारको सार्वजनिक भवनमा सोमबार आयोजन गरिएको थियो। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र पञ्चायत सदस्य राजीव तामाङको सञ्चालनमा आयोजन गरिएको थियो। भागोप्रमो महानदी ग्राम पञ्चायतको संयोजक एवं पञ्चायत समिति सदस्य कुसाङ लामाको संयोजकत्वमा सम्पन्न सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्या सरिता मुखिया, संयोजक तथा पञ्चायत समिति सदस्य कुसाङ लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान र सभाध्यक्ष शेखरचन्द्र प्रधान आदिले वक्तव्य राखेका थिए। सभामा निर्णय गरिए अनुसार आगामी दिनमा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने सबै बुथहरुमा पार्टीको सांगठनिक सभा गरिनुको साथै प्रत्येक बुथमा सांगठनिक सभा आयोजना गर्नुको साथै प्रशाखा कमिटीहरु पनि गठन गर्ने निर्देशन जारी गरिएको छ। सभामा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने प्रत्येक बुथ कमिटीको सभापति र सचिव लगायत अन्यहरुको विशेष उपस्थिति रहेको थियो।
