भारतीय गोर्खा जनशक्ति फ्रन्ट मिरिकले हालै मिरिकस्थित इन्द्रेणी पूललाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनीतिक दलसँग सम्बन्धित रङ्गमा रंगाइएको कार्यप्रति कडा आपत्ति जनाएको छ। यस समबन्धमा जीटीएका मुख्य कार्यकारी तथा BGPM का अध्यक्ष अनित थापालाई लेखिएको पत्रमा आइजीजेएफका संयोजक प्रशान्त लामाले उक्त कदमको आलोचना गर्दै यसले पूलको ऐतिहासिक महत्वलाई कमजोर बनाएको बताएका छन्।
सन् १९७६ मा निर्माण भएको इन्द्रेणी पूलको नाम नेताजी सुभाष चन्द्र बोसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय सेनाका युवा भारतीय गोर्खा स्वतन्त्रता सेनानी तथा सहिद इन्द्रेणी थापाको नाममा राखिएको हो। आइजीजेएफले यस्तो ऐतिहासिक स्थलहरूलाई राजनीतिक रङ्ग–ढङ्गबाट मुक्त राखी तटस्थ सम्पदा स्थलका रूपमा जोगाउनुपर्ने तर्क अघि सारेको छ।
